प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदनदेखि विभिन्न विधेयकमाथि छलफल हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदनदेखि विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ।

बैठकमा वार्षिक प्रतिवेदन पेस गर्ने तथा विभिन्न विधेयकमाथि छलफल अघि बढाउने कार्यसूची तय गरिएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई महत्त्वपूर्ण वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन्।

उनले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, व्यवस्थापन कार्यअन्तर्गत राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि मन्त्री गौतमले नै पेस गर्नेछिन्।

अनुमति प्राप्त भएपछि उक्त विधेयक सदनमा दर्ता गरिनेछ। साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछिन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।