युक्रेनका पूर्वसभामुख आन्द्रिय परूबीयको गोली हानी हत्या
Prime TV News १० महिना अगाडि 
काठमाडौ । युक्रेनका पूर्वसभामुख तथा संसदका वर्तमान सदस्य आन्द्रिय भोलोदिमिरोभिच परूबीयको गत शनिबार दिउँसो लिभिभ सहरमा गोली हानी हत्या गरिएको छ।
युक्रेनी प्रहरीका अनुसार, लिभिभको फ्रान्किभ्स्क जिल्ला स्थित येफ्रेमोभ सडकमा अज्ञात आक्रमणकारीले उनलाई लक्षित गर्दै गोली प्रहार गरेका थिए। घटनास्थलमै ५४ वर्षीय परूबीयको मृत्यु भएको हो।
प्रहरी अनुसन्धान अनुसार, आक्रमणकारी डेलिभरी कामदारको पोशाकमा रहेका थिए र उनले गोली प्रहार गरेपछि इलेक्ट्रिक बाइक चढेर फरार भएका थिए। घटनास्थलबाट ८ वटा गोलीको खोका बरामद गरिएको छ।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयले ओपरेशन साइरेनू नाम दिइएको विशेष अभियान अन्तर्गत हत्या गर्ने व्यक्तिको खोजी तीव्र बनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई “भयानक हत्या” भन्दै सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिएको बताएका छन्।
पूर्वसभामुख परूबीय युक्रेनको राजनीतिक इतिहासमा एक प्रमुख व्यक्ति मानिन्छन्। उनको हत्या प्रति युक्रेनी राजनीतिक वृत्तमा गहिरो शोक व्यक्त गरिएको छ ।







