एमाले सांसद राईको विवादास्पद अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सभामुख डीपी अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबार प्रतिनिधिसभाको बैठकमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
बुधबार बसेको दोस्रो बैठकमा सभामुख अर्यालले पहिलो बैठकमा सांसद राईले प्रयोग गरेका शब्दहरू संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्। यसअघि बुधबारको पहिलो बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुख अर्याललाई लक्षित गर्दै "कान सुन्नुहुन्छ कि हुँदैन?" भन्दै प्रश्न गरेका थिए।
उनले सभामुखले सदस्यहरूको कुरा नसुनी एकतर्फी निर्णय गरेको आरोप लगाउँदै आपत्ति जनाएका थिए। सांसद राईले भनेका थिए, "गरिमामय संसद्मा आत्तिएर एउटा सदस्यले कुरा समयमा जुन व्यवहार गर्नुभयो नि, तपाईंले पाँच वर्ष सदन चलाउनुहुन्न सभामुख महोदय। मैले बुझिसकेँ, मैले खुट्टा हेरिसकेँ। किन हेरेभन्दा पनि तपाईंले कुरा सुन्न परेन। नसुनिकन तपाईंले एकैचोटी भन्न मिल्छ?"
सांसद राईको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका सङ्ग्रौलाले नियमापत्ति जनाउँदै सभामुखको मानमर्दन हुने शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरेकी थिइन्। सांसद सङ्ग्रौलाले सभामुखको आचरणबारे आलोचना गर्न नहुने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा रहेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्तिले संसदीय मर्यादा प्रभावित हुने बताएकी थिइन्।







