सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेनको जवाफ माग्दै विपक्षी, ३९ दिनसम्म सभामुखले गरेनन् रुलिङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेनको जवाफ माग्दै विपक्षी, ३९ दिनसम्म सभामुखले गरेनन् रुलिङ

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठेको ३९ दिन बितिसक्दा पनि उनले संसदमा आएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको केही ठाउँमा जमिन मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि मात्र थाहा पाएको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले या त आफ्नो भनाइ पुष्टि गर्ने तथ्य सार्वजनिक गर्नुपर्ने वा संसद्मा आएर माफी माग्नुपर्ने माग राख्दै आएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने बताए। उनले एक महिनाभन्दा बढी समयदेखि विपक्षी दलहरूले एउटै विषय उठाउँदै आए पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।

"महिना दिनभन्दा बढी भयो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले यही रोस्ट्रममा विचार व्यक्त गरेको। त्यो कुरामा हाम्रो असहमति भयो भनेर हामी प्रतिपक्षीहरूले एउटै स्पिच, एउटै टोन र एउटै स्वरमा कुरा राख्दै आएका छौं," राईले भने।

उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराउँदै शून्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था रहेको बताए। प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले सभामुखबाट रुलिङको माग गर्दै आएका छन्। तर सभामुखले हालसम्म रुलिङ नगरेको भन्दै राईले असन्तुष्टि जनाए।

"सभामुख महोदय, सँधैभरी हामीले आन्दोलन गरिराख्ने हो? हामी उठिराख्नुपर्ने हो? कहिलेसम्म उठ्नुपर्ने हो?" उनले प्रश्न गरे। यसअघि बोल्दै नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले पनि सीमा समस्या सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय भएकाले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताइन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सुस्ता र ठोरी क्षेत्रका नागरिकले मानसिक दबाब र समस्या झेल्नुपरेको दाबी गरिन्।

"यो सार्वभौम संसद् हो, कुनै सामाजिक सञ्जालको कमेन्ट बक्स होइन, जहाँ आफूलाई मन लागेका प्रश्न र टिप्पणी हटाउन सकियोस्," गच्छदारले भनिन्।

उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत राखिन्।