संविधान संशोधनबारे कांग्रेसले दृष्टिकोण सार्वजनिक गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of संविधान संशोधनबारे कांग्रेसले दृष्टिकोण सार्वजनिक गर्ने

काठमाडौ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बिहीबार पार्टी कार्यालयमा ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिले तयार पारेको धारणा सार्वजनिक गरिनेछ।

उक्त कार्यक्रममा कांग्रेस सभापति गगन थापाको समेत उपस्थिति रहने जनाइएको छ। संविधान संशोधनका सम्भावित विषय, आवश्यकता र पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिको संयोजक कांग्रेस उपसभापति पुष्पा भुसाल रहेकी छन्। समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेतलगायत सदस्य रहेका छन्।

त्यस्तै, समितिमा अधिवक्ता रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि सदस्यका रूपमा रहेका छन्। कांग्रेसले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती र आवश्यक सुधारका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको थियो।