मौद्रिक नीतिपछि सेयर बजारमा निराशा, नेप्से ३० अंकले घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of मौद्रिक नीतिपछि सेयर बजारमा निराशा, नेप्से ३० अंकले घट्यो

काठमाडौ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट बजारमैत्री व्यवस्था आउने अपेक्षा गरेका लगानीकर्ता निराश बनेपछि बुधबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०९ अंकले घटेर २ हजार ६२१.५९ विन्दुमा कायम भएको हो। मंगलबार सामान्य सुधार देखिएको बजार बुधबार पुनः ओरालो लाग्यो। यस दिन सेन्सेटिभ इन्डेक्स ३.९३ अंक, फ्लोट इन्डेक्स २.०६ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.४२ अंकले घटेका छन्।

बजार घटे पनि कारोबार रकममा भने केही वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। बुधबार ३६२ वटा कम्पनीका ८४ लाख ६३ हजार कित्ता सेयर ७७ हजार ६२७ पटक कारोबार भएका छन्।

बजार ओरालो लागे पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ। बजारमा कारोबार भएका कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतभन्दा बढीले घट्दा सानिगाड हाइड्रोको सेयर मूल्य पनि करिब ६.५ प्रतिशतले ओरालो लागेको छ।