मानव अधिकार आयोगका १३ प्रतिशत सिफारिस मात्रै पूर्ण कार्यान्वयन

User Image Prime TV News १ हप्ता अगाडि
Image of मानव अधिकार आयोगका १३ प्रतिशत सिफारिस मात्रै पूर्ण कार्यान्वयन

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष गरेका सिफारिसको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको जनाएको छ।

आयोगका अनुसार हालसम्म गरिएका सिफारिसमध्ये १३ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका अधिकांश सिफारिस कार्यान्वयन नगरेको बताए।

उनका अनुसार आयोगले हालसम्म सरकारलाई एक हजार ६३० वटा सिफारिस गरेको छ। तीमध्ये १३ प्रतिशत पूर्ण रूपमा, ३४ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएका छन् भने ५२ प्रतिशतभन्दा बढी सिफारिस अझै कार्यान्वयन हुन बाँकी छन्। "आयोगले हाल सरकारलाई एक हजार ६३० वटा सिफारिस गरेको छ। तर अधिकांश सिफारिस कार्यान्वयन भएका छैनन्," अध्यक्ष मगरले भने।

उनले आयोगमा हालसम्म १४ हजारभन्दा बढी उजुरी दर्ता भएको जानकारी दिए। तीमध्ये १० हजार ६०० उजुरी फर्छ्योट भइसकेका छन् भने करिब दुई हजार १०० उजुरीमाथि अनुसन्धान भइरहेको छ। साथै, आठ हजार २६० उजुरी तामेलीमा राखिएको उनले बताए।

अध्यक्ष मगरले आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारलाई पटक–पटक आग्रह गर्दै आएको उल्लेख गर्दै विशेषगरी द्वन्द्वकालीन मुद्दामा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र दोषीलाई कारबाही गर्ने सम्बन्धी सिफारिस कार्यान्वयनमा ढिलाइ भइरहेको बताए।

उनले आयोगको नियुक्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदायको समेत चासो रहेको उल्लेख गर्दै त्यसलाई थप पारदर्शी बनाउनुपर्ने धारणा राखे। साथै आयोगमा कार्यरत कर्मचारीको वृत्ति विकास र सेवा–सुविधा संविधानको मर्मअनुसार सुनिश्चित गरिनुपर्नेमा पनि उनले जोड दिए।