अभिव्यक्तिका कारण डीएसपी प्रसन्नराज चौधरी जिल्ला तानिए
Prime TV News १ हप्ता अगाडि 
धनगडी । कैलालीमा आयोजित एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५ दरखमा लागुऔषधविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्तिबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको जनाएको छ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अन्य केही विषयमा परामर्श तथा छलफलका लागि बोलाइएको थियो। त्यसैबीच कार्यक्रममा बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त अभिव्यक्तिबारे पनि सोधपुछ गरिने उनले बताए।
उनका अनुसार डीएसपी चौधरीले कार्यक्रममा नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार चल्ने संस्था भएको बताएका थिए। भिडियोमा उनले नेपाल प्रहरी कसैको व्यक्तिगत प्रहरी नभई अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने संस्था भएको उल्लेख गरेका छन्।
उनले विभिन्न राजनीतिक व्यक्तित्वको नामसमेत उल्लेख गर्दै आफ्नो धारणा व्यक्त गरेका थिए। भिडियोमा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको देखिन्छ।
उनले आफू खुला प्रतिस्पर्धाबाट प्रहरी सेवामा प्रवेश गरेको र प्रहरी संगठन कानुन तथा विधिअनुसार सञ्चालन हुने पनि बताएका थिए। कार्यक्रमको अन्त्यतिर डीएसपी चौधरीले आफूले बोलेको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि भिडियोमा सुनिन्छ।
तर उक्त भिडियो पछि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण भएको छ।







