दलाई लामासम्बन्धी गतिविधिप्रति नारायणकाजी श्रेष्ठको चिन्ता, परराष्ट्र नीतिमा विचलनको आशंका
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले नेपालमा हालै भएका केही घटनाक्रमले परराष्ट्र नीतिको दिशा र त्यसको प्रभावबारे गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएको उल्लेख गर्दै त्यसको अन्तर्यबारे विभिन्न तहमा चासो र आशंका व्यक्त भइरहेको दाबी गरेका छन्।
साथै, दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा हुन सक्ने चर्चा पनि चलिरहेको बताएका छन्। श्रेष्ठले केही दिनअघि नेपालमा पहिलोपटक सरकारी औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव समारोहपूर्वक मनाइएको र उक्त कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको सहभागिता रहेको सार्वजनिक भएको उल्लेख गर्दै यसलाई सामान्य घटनाका रूपमा लिन नहुने धारणा राखेका छन्।
उनले यस्ता घटनाले वर्तमान सरकार नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट विचलित हुँदै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थअनुकूल अघि बढिरहेको आशंकालाई थप बल पुर्याएको टिप्पणी गरेका छन् । श्रेष्ठले नेपालको राष्ट्रिय हितको रक्षा गर्न परराष्ट्र नीतिको मूल मर्म र सिद्धान्तलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले औपचारिक रूपमा स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने तर व्यवहारमा त्यसबाट विचलित हुने अवस्था सिर्जना भए राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतामाथि गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्। सरकारले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले देशभक्त नेपाली जनताले त्यस्तो अवस्था स्वीकार नगर्ने र आवश्यक परे सशक्त प्रतिरोध गर्ने दाबी गरेका छन्।







