प्रधानमन्त्रीको अभिव्यक्तिमा ४० दिनसम्म रुलिङ नभएको भन्दै एमालेको असन्तुष्टि
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिमाथि ४० दिन बितिसक्दा पनि प्रतिनिधिसभाबाट रुलिङ नभएको भन्दै असन्तुष्टि जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद यशोदा बरालले गत १७ जेठमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषय उठाउँदै सभामुख डीपी अर्यालबाट हालसम्म कुनै निर्णय वा रुलिङ नभएकोमा प्रश्न उठाइन्।
सांसद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति न संसदको रेकर्डबाट हटाइएको, न रुलिङ गरिएको र न क्षमायाचना नै भएको भन्दै विषय कहिले टुंगो लाग्छ भनेर प्रश्न गरिन्। उनले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताइन्।
नियमावली केवल प्रतिपक्षलाई मात्र लागू हुने हो भने स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने भन्दै उनले सत्तापक्षका मन्त्री तथा प्रधानमन्त्रीका अभिव्यक्तिमा पनि समान प्रक्रिया अपनाउन माग गरिन्। एमालेले यस अघि पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संसदको ध्यानाकर्षण गराउँदै आएको छ।
तर सभामुखबाट अहिलेसम्म औपचारिक रुलिङ नआएको भन्दै एमालेले पुनः विषय उठाएको हो।







