संविधान संशोधन कार्यदलबाट दल बाहिरिने अवस्था वैशाखमै थाहा थियो : गगन थापा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट राजनीतिक दलहरू बाहिरिने अवस्था आउने संकेत आफूहरूले वैशाखमै बुझेको बताएका छन्।
‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बिहीबार बोल्दै थापाले कांग्रेसले त्यही कारण कार्यदलमा आफ्ना प्रतिनिधि नपठाई पार्टीभित्र तथा अन्य पक्षसँग संविधान संशोधनबारे छलफल अघि बढाएको बताए।
उनले अहिले विभिन्न राजनीतिक दलले आफ्ना प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाएको उल्लेख गर्दै कांग्रेसले सुरुदेखि नै संविधान संशोधनका लागि फरक प्रक्रिया प्रस्ताव गरेको बताए। थापाका अनुसार कांग्रेसले संविधान संशोधन अघि बढाउन दुई विकल्प अघि सारेको छ।
उनले पहिलो विकल्पमा बहालवाला वा अवकाशप्राप्त सर्वोच्च अदालतका न्यायाधीश तथा संवैधानिक विज्ञ सम्मिलित समिति गठन गर्ने र दोस्रो, संसद्भित्रै विशेष समिति बनाएर संशोधन प्रक्रिया अघि बढाउनु पर्ने उल्लेख गरे । उनले यीमध्ये कुनै एक प्रक्रियाले मात्र संविधान संशोधनलाई आवश्यक गम्भीरता र विश्वसनीयता दिन सक्ने धारणा राखे। साथै, संशोधनका प्राथमिकता पनि स्पष्ट रूपमा निर्धारण हुनुपर्नेमा उनले जोड दिए।
सभापति थापाले पहिलो चरणमा संविधानले १० वर्षपछि पुनरावलोकन गर्नुपर्ने व्यवस्था गरेका विषयलाई प्राथमिकतामा राखेर संशोधन गर्नुपर्ने बताए। त्यसपछि मात्र विश्वासको वातावरण निर्माण हुँदै गएपछि शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयतासम्बन्धी विषयमा आवश्यक संशोधनबारे छलफल गर्न उपयुक्त हुने उनको भनाइ थियो।
एकैपटक सबै विषयमा संशोधन प्रक्रिया अघि बढाउँदा मुलुक थप जटिल राजनीतिक विवादमा फस्न सक्ने भन्दै उनले चरणबद्ध र सहमतिमा आधारित संशोधन प्रक्रियाको आवश्यकता औँल्याए।







