गणेश नेपालीलाई तत्काल भारत नलैजाने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय गरेको छ।
उपचारमा संलग्न चिकित्सकहरूले हालको स्वास्थ्य अवस्था हेर्दै तत्काल स्थानान्तरण गर्नु जोखिमपूर्ण हुने सुझाव दिएपछि यो निर्णय गरिएको हो।
यसअघि चिकित्सकहरूको प्रारम्भिक सिफारिसका आधारमा सरकारले गणेश नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो।
उनका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिएको थियो भने गृहमन्त्री सुदन गुरुङको निर्देशनमा विमानस्थलसम्म छिटो पुर्याउन नेपाल प्रहरी र ट्राफिक प्रहरी पनि परिचालन गरिएको थियो। सरकारले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा समेत गरेको थियो।
तर, वीर अस्पतालको बर्न सघन उपचार कक्षमा भेन्टिलेटरको सहारामा उपचाररत गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकहरूले तत्काल अन्यत्र लैजानु ज्यानका लागि थप जोखिमपूर्ण हुन सक्ने निष्कर्ष निकालेका हुन्।
चिकित्सकहरूको सुझावअनुसार उनको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजाने तयारी गरिनेछ। बिहीबार दिउँसो वीर अस्पतालमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियुष दाहालको नेतृत्वमा विशेषज्ञ चिकित्सक, एनेस्थेसिया विशेषज्ञ, सघन उपचार विशेषज्ञ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोली उनको उपचारमा खटिएको छ।
चिकित्सकहरूले रक्तचाप नियन्त्रणमा राख्ने तथा स्वास्थ्य अवस्था स्थिर बनाउन आवश्यक औषधि र सघन उपचार निरन्तर जारी राखेको बताएका छन्।







