अमेरिका–इरान तनाव थप चर्कियो, दुवै पक्षबाट सैन्य कारबाही जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिका–इरान तनाव थप चर्कियो, दुवै पक्षबाट सैन्य कारबाही जारी

काठमाडौ । अमेरिकाले पछिल्लो दुई दिनमा इरानका एक सय ७० भन्दा बढी सैन्य केन्द्रमा हवाई आक्रमण गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमण गरिएका स्थानमा हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा तटीय सैन्य अखडाहरू रहेका थिए।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले होर्मुज जलडमरू क्षेत्रमा अमेरिकी गतिविधि जारी रहे कडा जवाफ दिइने चेतावनी दिएको छ।

आईआरजीसीले बहराइनस्थित अमेरिकी पाँचौँ जलसेना मुख्यालय, कुवेतको अली अल–सलेम हवाई अड्डासहित ८५ अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण जारी रहे होर्मुज जलडमरूको अवस्था सामान्य हुन नसक्ने र यस मार्गमा निर्भर धेरै देशले आर्थिक नोक्सानी बेहोर्नुपर्ने इरानको भनाइ छ।

यसैबीच, उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलमार्गको एक पुलमा अमेरिकाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको समाचार पनि सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँग भएको युद्धविराम सम्झौता समाप्त भइसकेको र अब नयाँ सम्झौता नगर्ने बताएका छन्।

यद्यपि अमेरिकी अधिकारीहरूले कूटनीतिक समाधानको प्रयास जारी रहेको जनाउँदै प्राविधिक तहमा वार्ता भइरहेको बताएका छन्। कतार र पाकिस्तानले दुवै पक्षबीच मध्यस्थताको प्रयास गरिरहेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघचीले धम्कीको वातावरणमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता सम्भव नरहेको बताएका छन्। उनले अमेरिकाले पहिले भएका सम्झौताको सम्मान गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

यसैबीच, इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको बिहीबार मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको जनाइएको छ। युद्धको तनावका बीच सम्पन्न अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा ठूलो सङ्ख्यामा मानिस सहभागी भएको बताइएको छ।

बुशहर आणविक केन्द्र आसपासका दक्षिणी क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको भए पनि ती आक्रमणमा आफ्नो संलग्नता नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी सेनाले होर्मुज जलडमरूमा इरानको मात्रै नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट आठ सयभन्दा बढी व्यापारिक जहाज सुरक्षित रूपमा आवतजावत गराइएको जनाएको छ।

यता कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन्। जोर्डनले पनि आफ्नो आकाशमा प्रवेश गरेका इरानी क्षेप्यास्त्रहरू खसालिएको दाबी गरेको छ।