गृहमन्त्री गुरुङको जवाफ : ‘म स्टन्टबाजी गर्न होइन, सेवा गर्न आएको हुँ’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले संसद्मा चर्को आवाजमा बोलेर मात्र जनताको समस्या समाधान नहुने बताए। उनले काम गरेर देखाउनुपर्ने आवश्यकता रहेको धारणा राखे। “घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५० औँ वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ,” उनले भने।
गृहमन्त्री गुरुङले आफू जनताको समस्या समाधानका लागि घटनास्थल र आवश्यक स्थानमा पुगेर काम गर्न खोज्दा त्यसलाई केही व्यक्तिले स्टन्टबाजीका रूपमा व्याख्या गरेको बताए। “मलाई कसैका लागि स्टन्टबाजी गर्न इच्छा छैन। म आफ्नो देशको सेवा गर्न आएको हुँ,” उनले भने।
उनले गणेश नेपालीको घटनामा आफूहरू गृहमन्त्रालयमा बसेर आवश्यक कदमबारे छलफल गरिरहेको उल्लेख गर्दै आलोचना गर्ने सांसदहरूलाई घटनास्थल र अस्पतालमा उपस्थितिको विषयमा प्रश्न गरे। “हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ,” उनले भने।
गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको विषयलाई लिएर पछिल्लो समय सरकारको भूमिका र जिम्मेवारीबारे संसद्मा तीव्र बहस भइरहेको छ।







