मौद्रिक नीतिपछि लगातार घट्यो नेप्से, तीन दिनमा ५० अंकको गिरावट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ।
पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक कुल ५०.८९ अंकले ओरालो लागेको छ। राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेपछि बुधबार नेप्से ३०.०९ अंक, बिहीबार १९.६७ अंक र शुक्रबार १.१३ अंकले घटेको हो। शुक्रबार नेप्से २६००.७८ बिन्दुमा बन्द भएको छ।
यद्यपि बजार परिसूचक घटे पनि कारोबार रकममा उल्लेखनीय वृद्धि भएको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गरिने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामाझ केही अन्योल देखिएको विश्लेषण गरिएको छ।
हाल १८० दिनको औसत मूल्य वा हालको बजार मूल्य, जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म सेयर धितो कर्जा उपलब्ध हुने व्यवस्था छ। यस्तै, असार मसान्तमा बैंकको साँवा–ब्याज भुक्तानी गर्ने समय नजिकिएकाले पनि लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजारमा आपूर्ति बढेको विश्लेषकहरू बताउँछन्।
शुक्रबार कारोबारको सुरुआतमा नेप्से करिब २० अंकसम्म बढेको भए पनि अन्तिम समयमा बजार ओरालो लागेर बन्द भएको थियो। यस दिन १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको मूल्य घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ। यता लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचुअल फन्ड समूहमा भने सामान्य वृद्धि देखिएको छ।
व्यक्तिगत कम्पनीतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढेको छ। त्यसपछि कुमारी इक्विटी फन्ड ९.०९ प्रतिशत र अलङ्गा हाइड्रोपावर ६.९२ प्रतिशतले उकालो लागेका छन्। यता भगवती हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशतले घटेको छ।







