सुन्दरीघाटको होल्डिङ सेन्टर डुबानमा, ६५ परिवारलाई खरीपाटी सारिने

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुन्दरीघाटको होल्डिङ सेन्टर डुबानमा, ६५ परिवारलाई खरीपाटी सारिने

काठमाडौ । काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेको छ।

डुबानपछि त्यहाँ बस्दै आएका ६५ परिवारलाई भक्तपुरको खरीपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार बाढीका कारण होल्डिङ सेन्टर असुरक्षित बनेपछि प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो।

उनका अनुसार खरीपाटीस्थित होल्डिङ सेन्टरमा आवश्यक ठाउँको व्यवस्था गरिसकिएको छ र कीर्तिपुरका प्रभावित परिवारलाई त्यहीँ स्थानान्तरण गरिनेछ।

समितिले यसअघि नै होल्डिङ सेन्टर खाली गर्न आग्रह गर्दै पहिलो चरणको राहत तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो। साथै आफैँ बसोबासको व्यवस्था गर्न सक्ने परिवारलाई घरभाडामा बस्न पनि आग्रह गरिएको थियो। तर धेरै परिवारले सेन्टर नछोडेपछि उनीहरू त्यहीँ बस्दै आएका थिए।

आयोजना निर्देशक महर्जनका अनुसार केही दिनअघि नै स्थानान्तरणको तयारी गरिएको भए पनि प्रभावित परिवार तत्काल सर्न तयार नभएकाले प्रक्रिया ढिलाइ भएको थियो।

समितिले सुरुमा आफैँ व्यवस्थापन गर्न सक्ने परिवारलाई घरभाडामा बस्ने व्यवस्था मिलाउने र असक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सरकारी व्यवस्थापनमा सुरक्षित स्थानमा राख्ने योजना बनाएको थियो।

तर आकस्मिक रूपमा बाढी पसेर जोखिम बढेपछि अहिले सबै प्रभावित परिवारलाई खरीपाटीस्थित होल्डिङ सेन्टरमा सार्ने तयारी गरिएको छ।