कमन जेनजी नेपालको चेतावनी, सरकार नसच्चिए देशव्यापी आन्दोलन गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of कमन जेनजी नेपालको चेतावनी, सरकार नसच्चिए देशव्यापी आन्दोलन गर्ने

काठमाडौ । कमन जेनजी नेपालले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि जनविरोधी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै तत्काल सुधार नगरे देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

सङ्गठनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको एक सय दिने कार्यकालको समीक्षा गर्दै हालैका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा मुगुका गणेश नेपालीको आत्मदाहप्रति गहिरो दुःख व्यक्त गर्दै यातायात व्यवस्था र ट्राफिक कारबाहीका कारण उनी यस्तो कदम चाल्न बाध्य भएको दाबी गरिएको छ। साथै, यस घटनाबारे गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको आरोप पनि लगाइएको छ।

सङ्गठनले गणेश नेपालीलाई उचित सम्मान प्रदान गर्न, उनका परिवारको दीर्घकालीन पालनपोषणको व्यवस्था गर्न तथा घटनामा जिम्मेवारमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साह, महासचिव रोनिश साह र इन्चार्ज कृष्णमोहन सहनीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सरकारले नागरिकमैत्री शासन सञ्चालन गर्न नसके देशभर आन्दोलन सुरु गरिने चेतावनी दिइएको छ।

विज्ञप्तिमा काठमाडौं महानगरपालिकामा तत्कालीन प्रमुख तथा हालका प्रधानमन्त्री वालेन्द्र शाहको कार्यकालदेखि महानगर प्रहरीको ज्यादती बढ्दै गएको दाबी पनि गरिएको छ।

सङ्गठनले सरकारको एक सय दिने कार्यकालमा जनताका पक्षमा कुनै उल्लेखनीय काम नभएको आरोप लगाएको छ। सुकुम्बासीमाथि डोजर चलाएर विस्थापित बनाइएको, सार्वजनिक निकायका पदाधिकारीलाई हटाइएको तथा सरकारी कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गरिएको दाबी विज्ञप्तिमा गरिएको छ।

त्यस्तै, बजेट तथा नीति कार्यक्रममा युवाको रोजगारी र आयआर्जनका लागि प्रभावकारी योजना नल्याइएको तथा सवारी चालकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था नागरिकमाथि अनावश्यक आर्थिक भार भएको पनि सङ्गठनको भनाइ छ।

कमन जेनजी नेपालले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको र त्यसबारे संसद्मा स्पष्ट जवाफ नदिएको आरोप पनि लगाएको छ।

साथै, बहालवाला तथा अवकाशप्राप्त पदाधिकारीहरूको सम्पत्ति विवरण छानबिन गर्ने संवैधानिक व्यवस्थालाई निष्क्रिय बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति पनि आपत्ति जनाएको छ।