इरानले हर्मुज जलमार्ग बन्द गरेको घोषणा, तनाव थप चर्कियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of इरानले हर्मुज जलमार्ग बन्द गरेको घोषणा, तनाव थप चर्कियो

काठमाडौ । इरानले आइतबार विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गर्दै त्यसविरुद्ध कुनै पनि कारबाही भए कडा जवाफ दिने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक नौसैनिक अधिकारीका अनुसार समुद्री सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिपछि एउटा जहाजमाथि कारबाही गरिएको हो। उनले जहाजले आफ्नो पहिचान प्रणाली बन्द गरेको आरोप लगाए पनि त्यसबारे थप विवरण सार्वजनिक गरिएको छैन।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा केही जहाजले अनधिकृत रूपमा जलमार्ग प्रयोग गर्न खोजेको र चेतावनीलाई बेवास्ता गरेको आरोप लगाइएको छ। साथै अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज जलमार्ग बन्द रहने जनाएको छ।

अमेरिका र इरानबीच केही समयअघि शान्ति सम्झौता भए पनि पछिल्ला दिनमा दुवै देशबीच फेरि सैन्य तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता समाप्त भएको दाबी गरेका छन्। यद्यपि इरानको अनुरोधमा कूटनीतिक वार्ता जारी रहेको पनि उनले बताएका छन्।

यसैबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको नाममा जारी लिखित सन्देशमा उनका बुबा अयातोल्लाह अली खामेनीको हत्याको बदला लिइने उल्लेख गरिएको छ। सन्देशमा घटनामा मारिएका सबैलाई सहिदको सम्मान दिँदै दोषीमाथि बदला लिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

सन्देशमा आफूहरूसँग जिम्मेवार व्यक्तिहरूको पूर्ण विवरण रहेको दाबी गर्दै बदला कुनै पनि हालतमा लिइने उल्लेख गरिएको छ। साथै विश्वभरका समर्थकहरूलाई पनि त्यस अभियानमा साथ दिन आह्वान गरिएको छ।

आफ्ना बुबाको निधनपछि सर्वोच्च नेता बनेका मोज्तबा खामेनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनी न अन्त्येष्टिमा सहभागी भएका छन्, न त भिडियो वा अडियो सन्देशमार्फत सार्वजनिक भएका छन्। हालसम्म उनका नाममा लिखित सन्देश मात्र सार्वजनिक हुँदै आएका छन्।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूविरुद्ध कुनै आक्रमण वा हत्या प्रयास भए इरानलाई कडा सैन्य जवाफ दिइने चेतावनी दिएका छन्। उनले अमेरिकासँग आवश्यक सैन्य क्षमता रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षामाथि कुनै खतरा स्वीकार नगर्ने बताएका छन्।