साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा

काठमाडौ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई म्याक एलिस्टरले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

स्विट्जरल्यान्डले ६७औँ मिनेटमा बराबरी गोल फर्कायो। रिकार्डो रोड्रिगेजको पासमा डान एनडोयेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ७२औँ मिनेटमा ब्रेल एम्बोलो दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएसँगै स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।

निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहारमार्फत गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।

यस जितसँगै अर्जेन्टिना विश्वकपको इतिहासमा सातौँ पटक सेमिफाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। तीन पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक उपविजेतासमेत बनेको छ।