नेपाली कांग्रेस विभाजनको जोखिममा, दुई पक्षबीच सहमतिको संकेत कमजोर

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली कांग्रेस विभाजनको जोखिममा, दुई पक्षबीच सहमतिको संकेत कमजोर

काठमाडौ । नेपाली कांग्रेस आन्तरिक विवादका कारण विभाजनको जोखिमतर्फ अघि बढेको देखिएको छ।

नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरू पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले आफ्नो अडान कायम राखेका छन् भने संस्थापन पक्षबाट ठोस प्रतिक्रिया नआएपछि दुई पक्षबीच सहमतिको सम्भावना कमजोर देखिएको हो।

पार्टीको आन्तरिक विवाद समाधानका लागि नियमित महाधिवेशन पक्षधर नेताहरू केही लचक देखिए पनि नेतृत्वबाट पहल नभएको भन्दै उनीहरू निराश बनेका छन्। नियमित महाधिवेशन पक्षधर नेता मीन विश्वकर्माले पार्टी विभाजनको नजिक पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले पूर्णबहादुर खड्कासँग हालै टेलिफोन सम्पर्क भएको र संस्थापन पक्षका नेताहरूसँग कुनै छलफल नभएको जानकारी आफूले पाएको बताए। विश्वकर्माका अनुसार खड्काले पार्टी विभाजन गर्ने पक्षमा आफू नरहेको बताएका छन्। खड्कालाई उद्धृत गर्दै उनले भने, “म यसरी विभाजन गरेर पार्टी बनाउँदिनँ। सञ्चारमाध्यमलाई पनि यही भनिदिनुस्। पार्टी बनिहाल्यो भने म त्यो पार्टीमा हुँदिनँ। सकेसम्म मिलाउने प्रयास गर्छु। तर, मिलाउने वा मिल्ने अवस्था देखिएको छैन।”

पार्टीभित्रको विवाद समाधानका लागि संवाद र सहमतिको प्रयास आवश्यक रहेको नियमित महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ। तर, दुवै पक्षबीचको दूरी कायमै रहँदा कांग्रेसभित्रको संकट थप गहिरिँदै गएको देखिएको छ।