गणेश नेपाली आत्मदाह प्रकरण: १४ घण्टाको वार्ता निष्कर्षविहीन, आज पुनः छलफल हुँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गणेश नेपाली आत्मदाह प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको करिब १४ घण्टा लामो वार्ता निष्कर्षविहीन बनेको छ।
दुवै पक्षले आज पुनः वार्तालाई निरन्तरता दिने बताएका छन्। बुधबार बेलुकी सुरु भएको वार्ता रातभर चलेको थियो। सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल, सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई लगायत सहभागी थिए।
वार्ताका क्रममा सरकारले मृतक गणेश नेपालीको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रस्ताव गरेको पीडित पक्षले जनाएको छ। त्यस्तै मृतककी पत्नीलाई रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने विषयमा पनि सरकारी टोली सकारात्मक देखिएको बताइएको छ।
तर, पीडित पक्षले संसदीय छानबिन समिति गठनको माग राख्दै आएकोमा सरकारले प्रशासनिक छानबिन गर्ने प्रस्ताव मात्र अघि सारेपछि सहमति जुट्न नसकेको जनाएको छ। पीडित पक्षले सरकारले जिम्मेवारी काठमाडौं महानगरपालिकामाथि मात्र थोपर्न खोजेको आरोप लगाएको छ।
आन्दोलनरत पक्षले नगर प्रहरी र ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने तथा घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने माग राखेको छ। यी विषयमा भने वार्तामा सहमति हुन सकेको छैन।
वार्ताका क्रममा दुवै पक्षबीच केही समय विवादसमेत भएको बताइएको छ। पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। यस्तै, पीडित परिवारका सदस्यहरूलाई रातभर जिल्ला प्रशासन कार्यालयमै राखिएको र सहमतिमा हस्ताक्षर गर्न दबाब दिइएको आरोप पनि पीडित पक्षले लगाएको छ।
पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। सरकारी वार्ता टोलीकी सदस्य दीपा दाहालले भने सरकार घटनाप्रति संवेदनशील रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएकी छन्।
उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेकी छन्। मृतक परिवारसँग सहमति हुन नसक्दा गणेश नेपालीको अन्त्येष्टि अझै हुन सकेको छैन। परिवारले माग पूरा नभएसम्म शव नउठाउने अडान लिएको छ। नेपालीको शव हाल वीर अस्पतालबाट निकालेर शिक्षण अस्पतालमा राखिएको छ।







