गोविन्दाकी पत्नी सुनिता आहूजाको बलिउड डेब्यू, छोरासँग एउटै फिल्ममा देखिने

User Image Prime TV News १ हप्ता अगाडि
Image of गोविन्दाकी पत्नी सुनिता आहूजाको बलिउड डेब्यू, छोरासँग एउटै फिल्ममा देखिने

काठमाडौ । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहूजाले अभिनय यात्राको सुरुआत गर्ने भएकी छन्।

उनले आफ्नो पहिलो फिल्ममा छोरा यशवर्द्धन आहूजासँगै अभिनय गर्ने जानकारी दिएकी छन्। हालै भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सुनिताले सेप्टेम्बरमा प्रदर्शन हुने उक्त फिल्ममार्फत आफू र छोरा यशवर्द्धन दुवैले बलिउडमा डेब्यू गर्न लागेको बताइन्।

उनका अनुसार फिल्मको निर्माण एकता कपूरले गरिरहेकी छन्। फिल्ममा उनले आफ्नै छोरा यशवर्द्धनकी आमाको भूमिका निर्वाह गर्नेछिन्। सुनिताले आमा र छोराले एउटै फिल्मबाट एकसाथ बलिउडमा डेब्यू गर्नु दुर्लभ घटना भएको उल्लेख गर्दै यसलाई आफ्नो लागि विशेष अवसर भएको बताइन्। साथै, उनले यसअघि पनि एकता कपूरकै आग्रहमा नेटफ्लिक्सको एक कार्यक्रममा सहभागी भएको जानकारी दिइन्।

गोविन्दा र सुनिता आहूजाका एक छोरा यशवर्द्धन र एक छोरी टीना आहूजा छन्। टीना यसअघि सन् २०१५ मा प्रदर्शन भएको सेकेन्ड ह्यान्ड हजब्यान्ड मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। तर, उक्त फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन।

यसैबीच, अभिनेता गोविन्दा भने पछिल्ला करिब सात वर्षदेखि ठूलो पर्दाबाट टाढा रहेका छन् र हालसम्म उनको नयाँ फिल्म सार्वजनिक भएको छैन।