ट्रम्पले भने- इरानविरुद्ध अमेरिकी सैन्य गतिविधि पुनः सुरु भएको भयो

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्रम्पले भने- इरानविरुद्ध अमेरिकी सैन्य गतिविधि पुनः सुरु भएको भयो

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकी समय अनुसार राति ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिएका हुन्। यसअघि उनले गत अप्रिलमा पनि युद्धसम्बन्धी विषयमा राष्ट्रलाई सम्बोधन गरेका थिए।

यसैबीच, ट्रम्प प्रशासनले इरानविरुद्ध अमेरिकी सैन्य गतिविधि पुनः सुरु भएको विषयमा अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी दिएको खुलेको छ।

बीबीसीका अनुसार ट्रम्पले जुलाई १० मा अमेरिकी सिनेटका कार्यवाहक अध्यक्ष सिनेटर चक ग्रास्लीलाई पत्र पठाउँदै जुलाई ७ देखि अमेरिकी सैन्य कारबाही पुनः सुरु भएको जानकारी गराएका थिए।

पत्रमा ट्रम्पले ती हवाई आक्रमणहरू रक्षात्मक प्रकृतिका रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षा तथा अमेरिकाको राष्ट्रिय हितको संरक्षणका लागि सैन्य कारबाही गरिएको बताएका छन्।

अमेरिकाको ‘वार पावर्स रिजोल्युसन’ अनुसार राष्ट्रपतिले कंग्रेसको पूर्वस्वीकृतिबिना सैन्य कारबाही सुरु गरेमा ४८ घण्टाभित्र त्यसबारे कंग्रेसलाई औपचारिक जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ।

यद्यपि, बिहीबार हुने राष्ट्रका नामको सम्बोधनमा ट्रम्पले इरानसँगको तनाव र सैन्य कारबाहीबारे बोल्ने हुन् वा अन्य विषय उठाउने हुन् भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।