संसदमा शङ्कास्पद गाडी तेर्स्याउने घटनाको विषय उठ्यो, दोषीमाथि कारबाहीको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठकमा शङ्कास्पद रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाको विषय उठेको छ।
मंगलबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम र राजनीतिक नेतृत्वका निवास तथा कार्यालयअगाडि गरिएको अवरोधप्रति आपत्ति जनाएका छन्। सांसद ठगुन्नाले उक्त घटनाले सम्बन्धित व्यक्तिहरूमा मानसिक त्रास फैलाउने प्रयास भएको दाबी गर्दै, हेर्दा सानो देखिए पनि यसको संकेत गम्भीर रहेको बताए।
उनले यस्तो गतिविधिले विगतका दमनकारी प्रवृत्तिको झल्को दिने टिप्पणी गरे। उनले कानुनविपरीत यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे।
यस्ता घटनाले लोकतान्त्रिक अभ्यास, नागरिक सुरक्षाको भावना र विधिको शासनमाथि नै प्रश्न उठाउने भएकाले सरकारले प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।







