सेयर बजारको गिरावट विरुद्ध लगानीकर्ताको आन्दोलन, धितोपत्र बोर्डमा धर्ना

User Image Prime TV News १ हप्ता अगाडि
Image of सेयर बजारको गिरावट विरुद्ध लगानीकर्ताको आन्दोलन, धितोपत्र बोर्डमा धर्ना

काठमाडौ । नेपाली सेयर बजारमा आएको निरन्तर गिरावटपछि आन्दोलित बनेका लगानीकर्ताले दबाबमूलक कार्यक्रम सुरु गरेका छन्।

बजार घट्दा सर्वसाधारण लगानीकर्ताको ठूलो रकम जोखिममा परेको भन्दै उनीहरूले नियामक निकायमाथि तत्काल सुधारका कदम चाल्न दबाब दिएका हुन्। पूर्वघोषित कार्यक्रमअनुसार मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालय पुगेका थिए।

कार्यालयमा तालाबन्दी गर्ने तयारी भए पनि उनीहरू पुग्नुअघि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले उक्त प्रयास सफल हुन सकेन। तालाबन्दी गर्न नपाएपछि लगानीकर्ताहरूले धितोपत्र बोर्डको गेटमै धर्ना दिएका छन्। लगानीकर्ता नेता तिलक कोइरालाको नेतृत्वमा करिब ६०–७० जना प्रदर्शनकारी सहभागी रहेको जनाइएको छ।

सुरक्षाकर्मीले कार्यालय प्रवेशमा रोक लगाएपछि केही समय क्षेत्र तनावपूर्ण बनेको थियो। धर्नाका क्रममा लगानीकर्ताहरूले ‘पूँजी बजार बचाउ’, ‘तत्काल रेस्क्यु प्लान लागू गर’ र ‘नियामक निकाय मुकदर्शक बन्न पाउँदैन’ लगायतका नारा लगाएका थिए। आन्दोलनको नेतृत्व गरिरहेका तिलक कोइरालाले सेयर बजार जोगाउन बाध्य भएर दबाबमूलक कार्यक्रम गर्नुपरेको बताए। उनले तत्काल बजार सुधारका लागि उद्धार योजना ल्याउन सरकार र नियामक निकायसँग माग गरे।

प्रदर्शनकारीहरूले मौद्रिक नीति तथा नियामक निकायका केही नीतिगत व्यवस्थाका कारण बजार निरन्तर प्रभावित भएको दाबी गरेका छन्। उनीहरूले तत्काल नीतिगत सुधार नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्।

यता धितोपत्र बोर्डले बजार सुधारका लागि आन्तरिक रूपमा काम भइरहेको बताउँदै लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ। धितोपत्र बोर्ड आसपासको सुरक्षा व्यवस्था भने कडा बनाइएको छ।