नागरिकलाई निराश बनाएर आत्महत्यासम्म पुर्याउनु गोली हानेसरह होः ज्ञानेन्द्र बहादुर शाही
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले नागरिकलाई निराशा र पीडाको अवस्थामा पुर्याएर आत्महत्या गर्न बाध्य बनाउनु पनि हत्या सरह भएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले मानिसको जीवन समाप्त गर्ने कार्य गोली हानेर मात्र नहुने बताए। उनले नागरिकको रोजीरोटी खोस्ने, बाँच्ने आधार कमजोर बनाउने र निराशाको अवस्थामा पुर्याउने गतिविधि पनि गम्भीर अपराध भएको टिप्पणी गरे।
‘मान्छेको जीवन समाप्त गर्नेहरू हिजो पनि हत्यारा थिए, आज पनि हत्यारा नै हुन्,’ भन्दै शाहीले राज्यका नीतिगत निर्णय र व्यवहारले नागरिकमा निराशा बढ्न नहुने धारणा राखे। उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छे ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको ज्यानभन्दा नियम ठूलो’ भन्ने अवस्थामा पुगेको आरोप लगाउँदै यसप्रति चिन्ता व्यक्त गरे।
सांसद शाहीले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै ट्राफिक नियम उल्लंघनको विषयमा पनि प्रश्न उठाए। उनले सिट बेल्ट नलगाउने उच्च पदस्थ व्यक्तिहरूमाथि किन समान रूपमा कारबाही हुँदैन भन्दै सरकारसँग जवाफ माग गरे।
विधिभन्दा माथि कोही पनि हुन नहुने उल्लेख गर्दै उनले राज्यले नागरिक र पदमा रहेका व्यक्तिहरूलाई समान व्यवहार गर्नुपर्ने बताए।







