विश्वविद्यालय र कलेजले अब अनिवार्य १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of विश्वविद्यालय र कलेजले अब अनिवार्य १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने

काठमाडौ । विश्वविद्यालय र त्यस अन्तर्गतका कलेजहरूले अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकाको विद्यालय तहमा लागू भएको छात्रवृत्ति प्रणाली प्रभावकारी देखिएकाले त्यसलाई विश्वविद्यालय तहमा समेत विस्तार गर्न लागिएको बताएका छन्।

मन्त्री पोखरेलका अनुसार शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले विश्वविद्यालय तहमा पनि छात्रवृत्तिको व्यवस्था संस्थागत गर्न लागिएको हो। उनले यो व्यवस्थालाई शिक्षामा समान अवसर विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयले सूचना जारी गर्दै कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अघि बढाएका छन्। सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूले १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न संयुक्त पहल गरेका हुन्।

विश्वविद्यालयहरूले जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८३/०८४ देखि सम्बन्धित कलेज तथा क्याम्पसहरूले भर्ना प्रक्रियामा यो व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। नियमअनुसार कुल स्वीकृत सिट संख्याको १० प्रतिशत सिट जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीका लागि छुट्याउनुपर्नेछ। ती सिटमा सम्बन्धित विश्वविद्यालयको छात्रवृत्ति कार्यविधिअनुसार विद्यार्थी छनोट गरी भर्ना गरिनेछ।

त्रिभुवन विश्वविद्यालयले छात्रवृत्ति पाउने विद्यार्थीको विवरण कलेजको वेबसाइटमा सार्वजनिक गर्न र सम्बन्धित निकायमा उपलब्ध गराउन निर्देशन दिएको छ। यसअघि शिक्षा मन्त्रालयले पनि नियमअनुसार छात्रवृत्ति नदिने विद्यालयलाई कानुनबमोजिम कारबाही गर्न स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेको थियो।