एमाले प्रमुख सचेतक महरले संसदमा उठाए ज्यान मार्ने धम्कीको विषय

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले प्रमुख सचेतक महरले संसदमा उठाए ज्यान मार्ने धम्कीको विषय

काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले जनप्रतिनिधिका रूपमा सरकारका कामकारबाहीबारे आलोचनात्मक धारणा राख्दा आफूलाई गोली हान्ने र हत्या गर्ने धम्की आएको बताए।

सदनमा उनले आफूलाई धम्की दिएको दाबी गरिएका सामाजिक सञ्जालका केही प्रयोगकर्ता र व्यक्तिको विवरण पनि उल्लेख गरे। उनका अनुसार फेसबुकमार्फत गोली हान्ने धम्की आएको छ भने फोनबाट पनि भौतिक आक्रमणको चेतावनी दिइएको छ।

महरले जनताको मतबाट निर्वाचित प्रतिनिधिलाई सार्वजनिक रूपमा ज्यान मार्ने धम्की दिनु गम्भीर विषय भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले आफूहरू सरकारको अन्धाधुन्ध विरोधमा नभई जनसरोकारका विषय उठाउने क्रममा यस्ता धम्कीको सामना गर्नुपरेको उल्लेख गर्दै जनप्रतिनिधिको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने बताए।