बागमती सरकारले समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न थाल्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of बागमती सरकारले समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न थाल्यो

काठमाडौ । बागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।

मंगलबार जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरे।

प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो। कार्यक्रममा मुख्यमन्त्री बानियाँले ती पाँच सहकारीका १४ हजार ६४ जना बचतकर्ताले रकम फिर्ताका लागि दाबी गरेको जानकारी दिए।

उनका अनुसार ती सहकारीमा ५१ हजार १९० सदस्यको करिब ३१ अर्ब ६ करोड रुपैयाँ बचत रहेको छ। त्यसमध्ये २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बचत फिर्ताको माग दर्ता भएको छ। उनले पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालिएको बताए। प्रारम्भिक चरणमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गरिएको उनले जानकारी दिए।

मुख्यमन्त्री बानियाँले सहकारीलाई सञ्चालन अनुमति दिने तर प्रभावकारी अनुगमन हुन नसक्दा बचतकर्ताको रकम असुरक्षित बनेको स्वीकार गर्दै अब सहकारी क्षेत्रको नियमन र अनुगमनलाई थप कडाइ गरिने बताए।