कांग्रेस–एमाले गठबन्धनमा दरार, प्रदेश सरकारहरूमा समीकरण फेरिने संकेत
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । केन्द्रमा बनेको राजनीतिक समीकरण कमजोर बन्दै गएसँगै कांग्रेस र एमालेबीच प्रदेशस्तरको सहकार्य पनि संकटमा परेको छ।
दुई वर्षअघि भएको सातबुँदे सहमतिअनुसार आलोपालो सरकार सञ्चालन गर्ने समझदारी कार्यान्वयन नभएको भन्दै कांग्रेसले प्रदेशमा एमालेसँगको सहकार्य अन्त्य गर्ने संकेत दिएको छ।
यसको प्रभाव सबैभन्दा पहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखिएको छ। सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
त्यस्तै कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। कांग्रेसले पूर्वसहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्नेमा एमालेले प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ।
कांग्रेसका नेताहरूका अनुसार बजेट पारित गर्ने विषयमा समेत एमालेले सहकार्य नगरेकाले गठबन्धन कायम राख्न कठिन भएको हो। यता एमालेका नेताहरूले भने शीर्ष तहमा छलफलमार्फत समस्या समाधान गर्ने समझदारी रहेको दाबी गर्दै सुदूरपश्चिममा भएको पछिल्लो घटनाक्रम अप्रत्याशित भएको बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस–एमालेबीच बढ्दो दूरीले अन्य प्रदेश सरकारहरूको समीकरणमा पनि प्रभाव पार्न सक्छ। गठबन्धन कमजोर बन्दै जाँदा वैकल्पिक सत्ता समीकरणको सम्भावना बढेको छ, जसले अन्य राजनीतिक दलहरूको भूमिका थप निर्णायक बन्ने संकेत दिएको छ।
दुवै दलका शीर्ष नेताबीच संवाद जारी रहे पनि प्रदेश सरकारहरूको भविष्य अब नयाँ राजनीतिक सहमति र शक्ति सन्तुलनमा निर्भर रहने देखिएको छ ।
कुन प्रदेशमा कस्तो पर्छ असर ?
कोशी प्रदेश सभा:
एमाले ४०, कांग्रेस २९, नेकपा १७, राप्रपा ५ र जसपा नेपालको १ सिट छ ।
मधेस प्रदेश सभा:
एमाले २४, कांग्रेस २२, जसपा नेपाल १८, नेकपा १५, जनमत पार्टी १२, लोसपा ८, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाको एक÷एक सिट छ ।
बागमती प्रदेश सभा:
कांग्रेस ३७, नेकपा २८, एमाले २७, राप्रपा १३, नेमकिपा २ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
गण्डकी प्रदेश सभा:
कांग्रेस २७, एमाले २२, नेकपा ८ र राप्रपाको २ सिट छ ।
लुम्बिनी प्रदेश सभा:
एमाले २९, कांग्रेस २७, नेकपा १३, राप्रपा ४, जसपा नेपाल ३, जनमत पार्टी ३, जसपा २, राजमो र स्वतन्त्र एक/एक सिट छ ।
कर्णाली प्रदेश सभा:
कांग्रेस १४, नेकपा १४, एमाले १०, राप्रपा र स्वतन्त्रको एक÷एक सिट छ ।
सुदूरपश्चिम प्रदेश सभा:
नेकपा २२, कांग्रेस १८, एमाले ११ र राप्रपाको एक सिट छ ।







