साउन १ देखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट, प्राधिकरणले बिलिङ प्रणाली अद्यावधिक गर्दै

User Image Prime TV News ५ दिन अगाडि
Image of साउन १ देखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट, प्राधिकरणले बिलिङ प्रणाली अद्यावधिक गर्दै

काठमाडौ । सरकारले साउन १ गतेदेखि घरायसी विद्युत् महसुलमा पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

नयाँ व्यवस्थाअनुसार ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले अतिरिक्त खपतमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ भने औद्योगिक तथा व्यावसायिक ग्राहकका लागि १३ प्रतिशत भ्याट लागू हुनेछ।

नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार नयाँ कर प्रणाली कार्यान्वयनका लागि बिलिङ सफ्टवेयर परिमार्जन भइरहेको छ। साउन १ गतेदेखि जारी हुने बिलमा भ्याट स्वतः गणना हुने गरी प्रणाली तयार पारिएको उनले बताए।

प्राधिकरणका अनुसार कुल ५६ लाख ४० हजार घरायसी ग्राहकमध्ये ५० युनिटसम्म विद्युत् खपत गर्ने ३० लाख ३४ हजार (५३.७९ प्रतिशत) ग्राहक भ्याटको दायराबाहिर रहनेछन्। उनीहरूले हालकै दरमा विद्युत् महसुल तिर्न पाउनेछन्।

यस्तै, ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने २६ लाख ६ हजार (४६.२१ प्रतिशत) ग्राहक भने ५ प्रतिशत भ्याटको दायरामा आउनेछन्। प्राधिकरणले पहिलो ५० युनिटसम्मको महसुलमा भ्याट नलाग्ने र त्यसभन्दा माथिको खपतमा मात्र ५ प्रतिशत भ्याट लाग्ने स्पष्ट गरेको छ।

उदाहरणका लागि, महिनामा १०० युनिट विद्युत् खपत गर्ने घरायसी ग्राहकको पहिलो ५० युनिटसम्मको महसुलमा भ्याट लाग्दैन। ५० युनिटभन्दा माथिको ५० युनिटको महसुलमा मात्र ५ प्रतिशत भ्याट जोडिनेछ। प्राधिकरणले नयाँ व्यवस्था प्रभावकारी रूपमा लागू गर्न बिलिङ प्रणाली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ।