साउनमा पनि घट्यो बैंकहरूको निक्षेप ब्याजदर, अधिकतम ४.१६ प्रतिशत
Prime TV News ५ दिन अगाडि काठमाडौ । साउन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन्।
२० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.१६ प्रतिशत कायम भएको छ, जुन असारमा ४.२५ प्रतिशत थियो। असारको तुलनामा साउनमा ६ वटा बैंकले ब्याजदर घटाएका छन्।
एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेसनलले ०.१५ प्रतिशतविन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशतविन्दु, कुमारी बैंकले ०.०६ प्रतिशतविन्दु, राष्ट्रिय वाणिज्य बैंकले ०.७५ प्रतिशतविन्दु र ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशतविन्दुले ब्याजदर घटाएका हुन्।
हाल नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर प्रदान गरेका छन्। यता कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सबैभन्दा कम ३.९५ प्रतिशत ब्याजदर कायम गरिएको छ। बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती निक्षेपभन्दा १ प्रतिशत बढी ब्याज दिने व्यवस्था यथावत् राखेका छन्।
बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम उच्च रहेकाले निक्षेपको ब्याजदर लगातार घट्दै गएको हो। हाल बैंकहरूसँग करिब १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीयोग्य रकम रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग ८२ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५९ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। मासिक रूपमा ठूलो परिमाणमा रेमिट्यान्स भित्रिँदा निक्षेप निरन्तर बढिरहेको छ।







