लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, एमाले–नेकपा समीकरणको सम्भावना
Prime TV News ५ दिन अगाडि 
बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने भएको छ।
एमालेका चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी सरकारमा सहभागी कांग्रेसले बिहीबार समर्थन फिर्ता लिने र आफ्ना पाँच मन्त्रीलाई राजीनामा गराउने तयारी गरेको छ। यसबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्रीहरू, प्रमुख सचेतक र सचेतकलाई दाङ बोलाएका छन्।
लुम्बिनी सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले भने केन्द्रमा एमाले–कांग्रेसबीच पुनः सहमति हुन सक्ने भन्दै तत्काल राजीनामा नदिन कांग्रेसका मन्त्रीहरूलाई आग्रह गरेको सामाजिक विकास मन्त्री तिमिल्सेनाले बताएका छन्। तर पार्टीको निर्णयअनुसार आफूहरू कदम चाल्न तयार रहेको उनको भनाइ छ।
कांग्रेसले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने र त्यसपछि नेकपा निर्णायक शक्ति बन्ने नेकपाका प्रमुख सचेतक इन्द्रजित चौधरीले बताए। उनले वाम दलबीच सहकार्यको सम्भावना रहेकाले एमालेसँग मिलेर सरकार बन्न सक्ने संकेत गरे।
यता एमालेले भने आफ्नो नेतृत्वको सरकार कायम रहने दाबी गरेको छ। प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले कांग्रेसको निर्णयपछि मात्र आगामी रणनीति तय गर्ने बताए। लुम्बिनी प्रदेशसभामा ८३ सांसद छन्। एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सांसद छन्। एमाले र नेकपा मिल्दा ४२ सांसद पुग्ने भएकाले बहुमत पुग्छ। कांग्रेस र नेकपा मिल्दा भने ४० सांसद हुन्छन्।
यसअघि २०८१ साउनमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्दा एमाले र कांग्रेसबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो। तर उक्त सहकार्य टुटेपछि प्रदेश सरकारको नयाँ समीकरणबारे अन्योल बढेको छ।







