महिला उद्यमीको विकासका लागि सहयोग गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताए। उनले महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरूमार्फत प्रवर्द्धन गर्ने वातावरण बनाइने जानकारी दिए।
छलफलमा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम, व्यापार मेला, प्रदर्शनी, बिजनेस म्याचिङ तथा निर्यात प्रवर्द्धनमा सहभागिताको माग गरेका थिए।
महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सहयोग गर्न गरिएको आग्रहलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा लिँदै ब्रान्डलाई तत्काल बजारमा ल्याउन पहल गर्न आग्रह गरे। महासंघले वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य, सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्ने व्यवस्था गर्न माग गरेको छ।
महिला उद्यमीहरूले वास्तविक उद्यमीले वित्तीय सहुलियत पाउन नसकेको गुनासो गर्दै सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न, पुँजी अभाव समाधान गर्न र धितोको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। महासंघले नीति निर्माण र सरकारी संयन्त्रमा महिला उद्यमीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।







