धेरै देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा बढ्दै गएको अध्ययनको निष्कर्ष

User Image Prime TV News ५ दिन अगाडि
Image of धेरै देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा बढ्दै गएको अध्ययनको निष्कर्ष

काठमाडौ । विश्वका धेरै देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा बढ्दै गएको एक अध्ययनले देखाएको छ।

अमेरिकास्थित स्वतन्त्र अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरले गरेको सर्वेक्षणअनुसार ३६ मध्ये २५ देशमा चीनप्रतिको सकारात्मक धारणा अमेरिकाको तुलनामा बढी देखिएको हो। प्यू रिसर्च सेन्टरले फेब्रुअरीदेखि मेसम्म ३६ देशका ४२ हजारभन्दा बढी व्यक्तिसँग गरेको सर्वेक्षणमा चीनप्रतिको सकारात्मक धारणा धेरै देशमा हालसम्मकै उच्च स्तरमा पुगेको उल्लेख छ।

यता, अमेरिकाप्रतिको धारणा भने कमजोर बन्दै गएको अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार यस्तो परिणाम प्यूको अध्ययन इतिहासमा पहिलोपटक देखिएको हो। यसअघि पनि अमेरिकाप्रतिको समर्थन घटेका बेला चीनप्रतिको सकारात्मक धारणा बढेको थियो, तर चीनले अमेरिकालाई उछिनेको अवस्था धेरै देशमा देखिएको थिएन।

सर्वेक्षणमा स्पेन, इटाली, इन्डोनेसिया, ग्रीस र क्यानडालगायत देशमा चीनप्रतिको झुकाव बढी देखिएको छ। यस वर्ष पोल्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायलले मात्र अमेरिकाप्रति बढी सकारात्मक धारणा व्यक्त गरेका छन्।

अध्ययनअनुसार मध्यम आय भएका देशहरूमा चीनप्रति सकारात्मक धारणा बढी छ भने धनी देशहरूमा चीनप्रति नकारात्मक धारणा तुलनात्मक रूपमा उच्च छ। पाकिस्तानमा चीनप्रति सबैभन्दा बढी सकारात्मक धारणा देखिएको छ, जहाँ करिब ९० प्रतिशत उत्तरदाताले चीनप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेका छन्। जापानमा भने चीनप्रतिको सकारात्मक धारणा सबैभन्दा कम, करिब ११ प्रतिशत रहेको छ।

सी चिनफिङ र ट्रम्पप्रतिको विश्वास

सर्वेक्षणमा विश्व मामिलामा सही निर्णय गर्न सक्ने क्षमताका विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको विश्वासबारे पनि प्रश्न गरिएको थियो।

समग्रमा दुवै नेताप्रतिको विश्वास कम देखिए पनि धेरै देशमा ट्रम्पको तुलनामा सी चिनफिङप्रति बढी विश्वास व्यक्त गरिएको छ। पाकिस्तानमा सीप्रति ८३ प्रतिशत र जापानमा ७ प्रतिशत विश्वास देखिएको छ। ट्रम्पले फिलिपिन्समा सबैभन्दा बढी ६८ प्रतिशत र वेस्ट बैंक/पूर्वी जेरुसेलममा सबैभन्दा कम ४ प्रतिशत विश्वास पाएका छन्।

अमेरिका र चीनबारे फरक धारणा

अध्ययनले अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने धारणा अझै बलियो रहेको देखाएको छ। तर विदेश नीतिमा भने अमेरिकालाई चीनभन्दा बढी हस्तक्षेपकारी शक्ति ठान्ने धारणा बढेको छ । सर्वेक्षण गरिएका केही देशमा ७५ प्रतिशत उत्तरदाताले अमेरिका अन्य देशका मामिलामा धेरै वा केही हदसम्म हस्तक्षेप गर्ने बताएका छन्। चीनका हकमा यस्तो धारणा राख्नेको संख्या ४५ प्रतिशत रहेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार अमेरिकी नीतिको अस्थिरता, सैन्य शक्तिको प्रयोग र त्यसबाट उत्पन्न आर्थिक प्रभावले धेरै देशमा अमेरिकाप्रतिको धारणा कमजोर बनाएको हुन सक्छ। अर्कोतर्फ, चीनले विकासशील देशहरूमा आफ्नो छवि सुधार्न आर्थिक र कूटनीतिक प्रयास बढाएको उनीहरूको विश्लेषण छ।

यद्यपि, चीन विश्वभर अत्यन्त लोकप्रिय शक्ति बनिसकेको निष्कर्ष निकाल्न अझै कठिन रहेको र धेरै मानिसका लागि चीनप्रतिको धारणा मिश्रित नै रहेको अध्ययनले संकेत गरेको छ।