आर्थिक वर्षको अन्तिम दिन नेप्से ७.५० अंकले बढ्यो, कारोबार ४.५६ अर्ब रुपैयाँ
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २,५९७.८० अंकमा पुगेको छ।
बजार ०.२८ प्रतिशतले उकालो लागेको हो। समग्र बजार सकारात्मक रहे पनि फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादनमूलक समूहका सूचक भने घटेका छन्। अन्य अधिकांश समूहमा हरियाली छाएको छ।
आज ३७१ कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर कारोबार हुँदा कुल ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारका क्रममा एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै १४.९६ प्रतिशत नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.७७ प्रतिशतले सबैभन्दा बढी घाटा व्यहोरे।
आज सिंगटी हाइड्रोको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २४ करोड ७४ लाख रुपैयाँभन्दा बढी बराबरको शेयर किनबेच भएको छ। यसअघि साताको पहिलो कारोबार दिन सोमबार नेप्से ३०.६० अंकले घटेको थियो। मंगलबार ६.११ अंक र बुधबार १४ अंकले बजार बढेको थियो।







