मन्त्रिपरिषद्का ७ प्रमुख निर्णय : मिटरब्याज वार्ता टोलीदेखि नयाँ सिक्का निष्कासनसम्म
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकका समस्या समाधान, वित्तीय व्यवस्थापन र प्रशासनिक सुधारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले अनुचित लेनदेन (मिटरब्याज) पीडितको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
सरकारले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन (टकमारी) गर्न स्वीकृति दिएको छ। त्यस्तै, नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने १८ लाख १० हजार अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्ले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा स्वीकृत आयोजनाका लागि आवश्यक थप रुख कटान तथा पोल हटाउने अनुमति सम्बन्धित मन्त्रालयबाटै दिन सकिने व्यवस्था पनि गरेको छ। यसअघि यस्ता निर्णय मन्त्रिपरिषद्बाटै गर्नुपर्ने व्यवस्था थियो।
बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन आदेश, २०८३ स्वीकृत गर्नुका साथै विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी अनुमोदन गरेको छ। यसका साथै, सरकारी सेवामा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था पनि स्वीकृत गरिएको सरकारले जनाएको छ।







