गृहमन्त्री गुरुङको मिटरब्याज पीडितलाई आग्रह : ‘सरकारमाथि विश्वास गर्नुस्, समस्या समाधान गर्छौं’

User Image Prime TV News ५ दिन अगाडि
Image of गृहमन्त्री गुरुङको मिटरब्याज पीडितलाई आग्रह : ‘सरकारमाथि विश्वास गर्नुस्, समस्या समाधान गर्छौं’

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वर्तमान सरकार समस्या समाधानप्रति गम्भीर रहेको भन्दै सरकारमाथि विश्वास गर्न आग्रह गरेका छन्।

बिहीबार बारा पुगेर पीडितहरूलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार विगतका सरकारभन्दा फरक रहेको दाबी गरे। विगतमा भएका सम्झौतासमेत कार्यान्वयन नभएको भन्दै पीडितहरूले आशंका व्यक्त गरेपछि गृहमन्त्री गुरुङले सरकार समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए।

‘नेपाल सरकारको तर्फबाट गृहमन्त्री आफैँ तपाईंहरूको माझमा आएको छ। पहिलाको सरकार भएको भए यसरी आउँथ्यो र?’ उनले भने। उनले अघिल्ला सरकारले पीडितका माग टार्ने प्रयास गरेको आरोप लगाउँदै अहिलेको सरकारले भने मागहरूलाई थप परिमार्जन गरी समाधान खोज्न चाहेको बताए।

गृहमन्त्री गुरुङले काठमाडौंसम्म धर्ना र आन्दोलन गर्नुभन्दा प्रत्यक्ष संवाद प्रभावकारी हुने उल्लेख गर्दै पीडितहरूलाई आफ्ना प्रतिनिधि चयन गरेर वार्तामा सहभागी हुन आग्रह गरे। सरकार मागहरू कार्यान्वयन गर्न तयार रहेको उनको भनाइ थियो।

‘यो तपाईंहरूले मत दिएर बनाएको सरकार हो। जब सरकार तपाईंहरूसँगै उभिएर तपाईंहरूकै कुरा गरिरहेको छ, तब सरकारलाई साथ दिनुपर्छ,’ उनले भने। उनले आन्दोलनलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न र आफ्ना मागहरू स्पष्ट रूपमा प्रस्तुत गर्दै वार्तामार्फत समाधानतर्फ अघि बढ्न पनि आग्रह गरेका छन्।