आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

User Image Prime TV News ४ दिन अगाडि
Image of आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौ । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षाको प्रभाव कायम रहने अनुमान गरिएको हो।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

मौसमविद्हरूले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान तथा कमजोर भौगोलिक बनोट भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

साथै, वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।