डा. गोविन्द केसीको चेतावनी: साउन ५ भित्र माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी स्वार्थको प्रभाव अन्त्य गर्दै चिकित्सा शिक्षालाई कानुनअनुसार पूर्ण रूपमा गैरनाफामूलक बनाउन सरकारसँग माग गरेका छन्।
उनले साउन ५ गतेभित्र माग सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने चेतावनी दिएका छन्। प्रेस विज्ञप्तिमार्फत उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयनका लागि आवश्यक तयारी नगरेको आरोप लगाए।
डा. केसीले निजी शिक्षण संस्थासँग स्वार्थ गाँसिएका व्यक्तिलाई चिकित्सा शिक्षा सम्बन्धी नियामक निकाय र मेडिकल विश्वविद्यालयमा नियुक्त गरिएको भन्दै त्यस्ता नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन्। साथै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्डबिना निजी कलेजहरूको सिट संख्या बढाउने प्रस्ताव फिर्ता लिन पनि उनले सरकारसँग आग्रह गरेका छन्।
उनले सरकारीभन्दा न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको संख्या बढ्दै गएको तथा चिकित्सा शिक्षा र स्वास्थ्य नीति निर्माण तथा नियुक्तिमा निजी मेडिकल व्यवसायीहरूको प्रभाव बढेको दाबी गरेका छन्।
डा. केसीले तोकिएको समयभित्र माग पूरा नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका आन्दोलन पुनः सुरु हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्।







