बागमतीमा मन्त्रालय घटाएर ८ बनाइयो, ६ मन्त्री बिना विभागीय

User Image Prime TV News ४ दिन अगाडि
Image of बागमतीमा मन्त्रालय घटाएर ८ बनाइयो, ६ मन्त्री बिना विभागीय

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मन्त्रालयको संख्या घटाएका छन्।

उनले प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय बनाएका हुन्। मन्त्रालय संख्या घटाइए पनि मन्त्रीको संख्या भने १४ नै कायम रहेको छ। ६ जना मन्त्रीलाई बिना विभागीय जिम्मेवारी दिइएको छ।

बिना विभागीय बनाइएका मन्त्रीहरूमा किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेल रहेका छन्। मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेसका हुन्। कांग्रेसले सबै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि बागमती सरकारमा पनि राजनीतिक समीकरण परिवर्तनको चर्चा बढेको छ।

एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा रहे पनि केन्द्रबाट ठोस निर्देशन नआएसम्म सरकार नछाड्न भनिएपछि तत्काल रोकिएको एक एमाले मन्त्रीले बताएका छन्। यसबीच नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमाले दुवैले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग संवाद अघि बढाइरहेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका भ्रमणबाट फर्किएपछि नयाँ समीकरणबारे निर्णय हुने बताइएको छ।