नयाँ नियमावलीको विरोधमा कन्सल्टेन्सी सञ्चालकको प्रदर्शन
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । शैक्षिक परामर्श सेवा (कन्सल्टेन्सी) सम्बन्धी नयाँ नियमावलीको विरोध गर्दै कन्सल्टेन्सी सञ्चालकहरूले शुक्रबार काठमाडौंको पुतलीसडक क्षेत्रमा प्रदर्शन गरेका छन्।
सरकारले ल्याएको शैक्षिक परामर्श नियमावली २०८३ ले व्यवसाय सञ्चालनमा अनावश्यक कडाइ गरेको भन्दै उनीहरूले नियमावली संशोधन गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘विद्यार्थीले तिरेको कर, विद्यार्थीकै हितमा सदुपयोग गरौँ’, ‘शैक्षिक परामर्श नियमावली २०८३ त्रुटिपूर्ण छ’ र ‘शिक्षा लगानी हो, खर्च होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
नियमावलीअनुसार शैक्षिक परामर्श संस्था सञ्चालन गर्न २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, नयाँ शाखा विस्तार गर्दा पनि सोही बराबरको धरौटी राख्नुपर्ने तथा सेवा सञ्चालनका लागि अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने प्रावधान समावेश गरिएको छ।
व्यवसायीहरूले यी व्यवस्थाले साना तथा मध्यम स्तरका कन्सल्टेन्सी सञ्चालन गर्न कठिन हुने र शिक्षा क्षेत्रमा लगानी घट्ने दाबी गरेका छन्। उनीहरूले सरकारसँग सरोकारवालासँग छलफल गरी व्यवहारिक र संशोधित नियमावली लागू गर्न आग्रह गरेका छन्।







