फेरि बन्द भयो तातोपानी नाका, वर्षाले सडक बगायो
Prime TV News ४ दिन अगाडि 
सिन्धुपाल्चोक। नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको छ।
बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि अविरल वर्षापछि सडक क्षतिग्रस्त बनेपछि फेरि ठप्प भएको हो। बिहीबार रातभर परेको वर्षाले इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा रोकिएको स्थानीय प्रशासनले जनाएको छ।
वर्षापछि खोल्साको पानी सडकमै पसेर सडक पुनः भासिएको हो। सडक डिभिजन कार्यालय चरिकोटले मर्मतपछि बिहीबार साँझदेखि एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याएको थियो। सडक खुलेपछि ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए। तर इको क्षेत्रमा फेरि सडक भासिएपछि नाका पुनः बन्द गर्नुपरेको हो।
यस वर्ष मनसुन ढिलो सुरु भएका कारण कोदारी सडक २७ असारसम्म नियमित सञ्चालनमा रहेको थियो। पछिल्ला दुई दिनको वर्षापछि लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको क्षेत्रमा वर्षेनी दोहोरिने सडक भासिने समस्या फेरि देखिएको छ।
सडक डिभिजन कार्यालय चरिकोटका फिल्ड इन्जिनियर सुरेन्द्र सिंहका अनुसार इको क्षेत्रमा माथिबाट झर्ने खोल्साको पानी र तल बग्ने भोटेकोशी नदीको कटानका कारण वर्षा हुनासाथ सडक जोखिममा पर्ने गरेको छ।
इको क्षेत्रको दीर्घकालीन पहिरो नियन्त्रणका लागि चीन सरकारको सहयोगमा योजना अघि बढाइएको भए पनि चालु मनसुनभर निर्माण कार्य सुरु नहुने जनाइएको छ। नेपाल र चीनबीच दुई चरणको सम्झौता सम्पन्न भइसकेको र अब कार्यान्वयन सम्झौता मात्र बाँकी रहेको कार्यालयले जनाएको छ। बर्खा सकिएपछि चिनियाँ निर्माण कम्पनीले पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारी छ।
हाल खासामा नेपाली व्यापारीका लसुन, ओखर, फलफूल, रेडिमेड सामग्री तथा विभिन्न जलविद्युत् आयोजनाका उपकरण बोकेका कन्टेनर रोकिएका छन्। सडक अवरुद्ध हुँदा ट्रान्सपोर्ट व्यवसायीले अतिरिक्त लागत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। उता, भोटेकोशी नदीको बढ्दो बहावले तातोपानी भन्सार यार्डमा पनि कटान सुरु भएको स्थानीयले बताएका छन्।







