भट्टको कम्पनीबाट जयवीरको कम्पनीमा २.६० करोड भुक्तानी

User Image Prime TV News ४ दिन अगाडि
Image of भट्टको कम्पनीबाट जयवीरको कम्पनीमा २.६० करोड भुक्तानी

काठमाडौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको कम्पनीमा करिब २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा यस्तो विवरण उल्लेख गरिएको हो। विभागले विष्णु पौडेलसहित १४ व्यक्ति तथा कम्पनीविरुद्ध दायर गरेको मुद्दामा भट्टको कम्पनीबाट भएको उक्त कारोबारबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

अभियोगपत्रअनुसार जयवीर देउवाको लगानी रहेको भनिएका Scholar International र Digi Hut नामक दुई कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको उल्लेख छ। “प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुनसक्ने देखिएकाले त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुनबमोजिम गरिनेछ,” अभियोगपत्रमा भनिएको छ।

यसअघि सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा विभागले असार २२ गते जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भन्दै विभागले बुढानीलकण्ठस्थित उनको निवासमा सूचना टाँस गरेको थियो।

त्यसपछि असार २३ गते गोरखापत्रमा समेत उपस्थित हुन सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको समयभित्र जयवीर देउवा विभागमा उपस्थित नभएको विभागले जनाएको छ।