पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राख्न वा धरौटी माग गर्न आवश्यक नरहेको निष्कर्ष निकाल्दै साधारण तारेखमा मुद्दा अघि बढाउने आदेश दिएको हो।
अदालतले तत्काल प्राप्त प्रमाणबाट पौडेलको संलग्नता पुष्टि नभएको, उनले आरोप अस्वीकार गर्दै बयान दिएको तथा व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको वा कुनै किसिमको सम्पत्ति तथा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको आधार लिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत असार ८ गते पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि पटक–पटक म्याद थप गरी उनीमाथि अनुसन्धान गरिएको थियो। विशेष अदालतको आदेशसँगै पौडेल अब हिरासतमा नरही साधारण तारेखमा रहेर मुद्दाको प्रक्रिया सामना गर्ने भएका छन्।







