छ महिनापछि पनि जसपा–लोसपा समायोजन अलपत्र, छुट्टाछुट्टै बैठकबाट समाधान खोज्ने तयारी

User Image Prime TV News ३ दिन अगाडि
Image of छ महिनापछि पनि जसपा–लोसपा समायोजन अलपत्र, छुट्टाछुट्टै बैठकबाट समाधान खोज्ने तयारी

काठमाडौ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबीच एकता भएको छ महिनाभन्दा बढी बितिसक्दा पनि संगठनात्मक समायोजन टुंगोमा पुग्न सकेको छैन।

समायोजन प्रक्रियालाई अघि बढाउने उद्देश्यले दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाउने तयारी गरेका छन्। दुई दलबीच २०८२ पुसमा एकता भएर नयाँ जसपा नेपाल गठन भएको थियो।

अध्यक्षमा उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर तोकिए पनि अन्य पदाधिकारी तथा संगठनात्मक संरचनाबारे सहमति हुन सकेको छैन। पार्टी दर्ताका क्रममा गठन गरिएको ५२ सदस्यीय केन्द्रीय समन्वय समितिसमेत प्रभावकारी रूपमा सक्रिय हुन सकेको छैन।

पार्टीभित्रैका नेताहरूका अनुसार एकता भए पनि व्यवहारमा दुई पक्षबीचको दूरी अझै हट्न सकेको छैन। जसपा पक्षका नेताहरू बालकुमारीस्थित केन्द्रीय कार्यालयमा सक्रिय देखिए पनि लोसपा पक्षका अधिकांश नेता संरक्षक ठाकुरसँगै उनको निवास वा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केन्द्रित हुने गरेका छन्।

बालकुमारीस्थित पार्टी कार्यालयमा महन्थ ठाकुरका लागि छुट्टै कार्यकक्ष तयार गरिए पनि उनले हालसम्म त्यसको प्रयोग गरेका छैनन्। उनी प्रायः आफ्नै निवास वा सिंहदरबारस्थित कार्यालयबाट राजनीतिक भेटघाट र छलफल गर्दै आएका छन्।

पार्टीका एक नेताका अनुसार अध्यक्ष यादव र संरक्षक ठाकुरबीच नियमित संवाद नहुँदा समायोजन प्रक्रिया प्रभावित बनेको छ। आवश्यक छलफलका लागि दुवै नेताको नियमित भेट हुन नसक्दा निर्णय प्रक्रिया पनि सुस्त बनेको उनीहरूको भनाइ छ।

यता, लोसपा पक्षका केही नेताहरू समायोजनपछि आफूले उचित जिम्मेवारी नपाउने आकलन गर्दै वैकल्पिक राजनीतिक बाटो खोज्न थालेको चर्चा पनि पार्टीभित्र भइरहेको छ।

यद्यपि जसपा नेपालका नेता शैलेन्द्र साहले समायोजनमा कुनै गम्भीर विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार दुवै पक्षले आन्तरिक गृहकार्य गरिरहेका छन् र आवश्यक छलफलपछि संगठनात्मक संरचनालाई अन्तिम रूप दिइनेछ।

समायोजनकै विषयमा छलफल गर्न जसपा नेपालले एकताअघिको कार्यकारिणी समितिको बैठक बोलाएको छ। उक्त बैठकले समायोजनको मोडेल, संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, लोसपाले पनि आफ्नो पुरानो कार्यकारिणी समितिको बैठक बोलाउने तयारी गरेको छ। जसपाको बैठकबाट आउने निष्कर्षका आधारमा थप निर्णय गरिने बताइएको छ।

तत्कालीन लोसपाका महासचिव तथा हालका जसपा नेता विनोद सिंहले समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्दै केही दिनभित्रै टुंगो लाग्ने विश्वास व्यक्त गरे। उनले सबै पक्षसँग परामर्श गरेर निर्णय गर्दा संगठन अझ मजबुत हुने बताए।

पदाधिकारी व्यवस्थापन मुख्य चुनौती

समायोजनमा सबैभन्दा ठूलो चुनौती नेतृत्व र पदाधिकारी व्यवस्थापन बनेको छ। तत्कालीन लोसपामा ६५ पदाधिकारीसहित ३०७ सदस्यीय केन्द्रीय समिति थियो भने जसपामा १८ पदाधिकारीसहित २४१ सदस्यीय केन्द्रीय समिति रहेको थियो। दुवै पार्टीका गरी अहिले ५४८ केन्द्रीय सदस्य छन्।

स्रोतका अनुसार नयाँ पार्टीमा २५१ सदस्यीय केन्द्रीय समिति र १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ। आन्तरिक सहमतिअनुसार ६० प्रतिशत प्रतिनिधित्व जसपा र ४० प्रतिशत लोसपालाई दिने तयारी छ।

यस व्यवस्थाअनुसार लोसपाका धेरै नेताले केन्द्रीय समितिमा स्थान नपाउने सम्भावना रहेको छ। विशेषगरी तत्कालीन लोसपाका ६५ पदाधिकारीलाई नयाँ संरचनामा कसरी व्यवस्थापन गर्ने भन्ने विषय संरक्षक महन्थ ठाकुरका लागि सबैभन्दा चुनौतीपूर्ण बनेको बताइएको छ।

उता, तत्कालीन जसपामा पदाधिकारी संख्या कम रहेकाले अध्यक्ष उपेन्द्र यादवलाई नेतृत्व व्यवस्थापनमा तुलनात्मक रूपमा सहज हुने विश्लेषण गरिएको छ।