पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, बीपी र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

User Image Prime TV News २ दिन अगाडि
Image of पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, बीपी र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

काठमाडौ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–७ घुमाउने, रोशी–८ गिम्दी तथा रोशी–९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा आइतबार बिहान करिब ४ः३० बजे पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बीपी राजमार्गमा यसअघि नै अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। पछिल्लो पहिरोपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्ति लोकपथमा पनि आइतबार बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकमा पनि असार १८ गतेदेखि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो।

प्रहरीका अनुसार इलामको मेची राजमार्गअन्तर्गत इलाम–९ राजदुवाली क्षेत्रमा हिलो जमेकाले असार २३ गतेदेखि सवारी आवतजावत रोकिएको छ। उक्त खण्डमा वैकल्पिक सडकमार्फत यातायात सञ्चालन भइरहेको जनाइएको छ।

अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन। पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा माथिबाट ठूलो ढुङ्गा खस्दा असार २८ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र बागलुङको कालीगण्डकी करिडोरमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।

प्रहरीले वर्षा जारी रहेकाले बाढी, पहिरो र सडक अवरोधको जोखिम अझै कायम रहेको भन्दै अत्यावश्यक बाहेकको यात्रा गर्दा सतर्कता अपनाउन र सम्बन्धित निकायबाट सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।