तीन दलीय प्रदेश सरकारको प्रस्तावप्रति गगन थापाको असहमति

User Image Prime TV News २ दिन अगाडि
Image of तीन दलीय प्रदेश सरकारको प्रस्तावप्रति गगन थापाको असहमति

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला राजनीतिक दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाएका छन्।

यस्तो अभ्यासले लोकतान्त्रिक मूल्य, जनमत र प्रभावकारी प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने उनको भनाइ छ। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै थापाले तीन दलीय सरकार गठन भए प्रदेश सभामा प्रतिपक्षको भूमिका समाप्त हुने अवस्था सिर्जना हुने बताए।

उनले जनताले दिएको म्यान्डेटअनुसार सरकार र प्रतिपक्ष दुवै सशक्त रहनुपर्ने धारणा व्यक्त गरे। थापाले नेपाली कांग्रेसले विगतमा सत्ताकेन्द्रित राजनीतिका कारण केही गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्त र लोकतान्त्रिक मूल्यमा सम्झौता नगर्ने बताए। उनका अनुसार सत्ता प्राप्तिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिले २०७२ सालयता नेपालको राजनीति अस्थिर र दिशाहीन बनेको छ।

उनले सरकार र प्रतिपक्षबीच बारम्बार हुने गठबन्धन परिवर्तनले जनविश्वासमा नकारात्मक असर परेको उल्लेख गर्दै राजनीतिक दलहरूले सिद्धान्त, जवाफदेहिता र जनमतको सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।