प्रदेश सरकार गठनबारे निर्णय गर्न सोमबारदेखि नेकपाको आन्तरिक छलफल

User Image Prime TV News २ दिन अगाडि
Image of प्रदेश सरकार गठनबारे निर्णय गर्न सोमबारदेखि नेकपाको आन्तरिक छलफल

काठमाडौ । केही प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भंग भएपछि उत्पन्न राजनीतिक अवस्थाबारे निर्णय गर्न नेपाली कम्युनिस्ट पार्टीले सोमबारदेखि आन्तरिक छलफल सुरु गर्ने भएको छ।

श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वसँग परामर्श गरेपछि मात्रै अन्य राजनीतिक दलसँग संवाद अघि बढाउने तयारी गरेका छन्।

नेकपा प्रवक्ता प्रकाश ज्वालाले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच प्रारम्भिक छलफल हुने र त्यसपछि आवश्यकताअनुसार कांग्रेस तथा एमाले नेतृत्वसँग संवाद हुने जानकारी दिए। उनका अनुसार पार्टीले तत्काल सरकारमा सहभागी हुने निर्णय गरेको छैन।

सत्ता साझेदारीभन्दा राजनीतिक स्थायित्व र प्रदेश सरकार सञ्चालनलाई प्राथमिकतामा राखेर निर्णय गरिने उनले बताए। ज्वालाले सरकार गठन नै असम्भव हुने अवस्था सिर्जना भएमा मात्रै नेकपाले जिम्मेवारी बहन गर्ने विषयमा छलफल हुन सक्ने स्पष्ट पारे।

यसबीच, कांग्रेस र एमाले दुवैले प्रदेश सरकार गठनका लागि नेकपासँग सहकार्यको प्रस्ताव गरेका छन्। तर नेकपाभित्र सत्ता समीकरणमा सहभागी हुने विषयमा एकमत देखिएको छैन। पार्टीका केही वरिष्ठ नेताहरूले प्रदेश निर्वाचन नजिकिएका बेला सरकार गठनको प्रतिस्पर्धाभन्दा संगठन सुदृढीकरण र जनतामुखी राजनीतिमा केन्द्रित हुनुपर्ने धारणा राख्दै आएका छन्।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा कांग्रेस–एमाले गठबन्धन टुटेपछि नयाँ सरकार गठनका लागि राजनीतिक गतिविधि तीव्र बनेका छन्। दुवै प्रदेशमा नेकपाको समर्थन निर्णायक बन्न सक्ने भएकाले पार्टीको आगामी निर्णयलाई चासोका साथ हेरिएको छ।