कांग्रेसभित्र शक्ति प्रदर्शनको तयारी, देउवा समूहले राष्ट्रिय भेला बोलाउने

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेसभित्र शक्ति प्रदर्शनको तयारी, देउवा समूहले राष्ट्रिय भेला बोलाउने

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको विकसित राजनीतिक अवस्था र संगठनात्मक रणनीतिबारे छलफल गर्न साउनभित्र राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

आइतबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार भेलाको मिति, स्थान र विस्तृत कार्यक्रम साउन ६ गते जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा सार्वजनिक गरिनेछ।

देउवा समूहले पार्टी नेतृत्वले आन्तरिक एकता कायम गर्न प्रभावकारी पहल गर्न नसकेको आरोप लगाएको छ। विशेष महाधिवेशनपछि सात महिना बितिसक्दा र अदालतको फैसलापछि पनि पार्टीभित्रको विवाद समाधानतर्फ उल्लेखनीय प्रगति हुन नसकेको समूहको निष्कर्ष छ।

समूहले जारी गरेको विज्ञप्तिमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति जटिल बन्दै गएको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन कांग्रेसभित्र नीतिगत बहस र संगठनात्मक एकता अपरिहार्य रहेको जनाएको छ।

विज्ञप्तिमा केही सार्वजनिक अभिव्यक्तिका कारण सहकार्यमा रहेका राजनीतिक दलसँग सम्बन्ध प्रभावित भएको र लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको आरोप पनि लगाइएको छ।

देउवा समूहले राष्ट्रिय भेलामार्फत पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार र आन्तरिक एकताबारे साझा रणनीति तय गर्ने जनाएको छ। हाल कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरणका बीच देउवा समूहको यो निर्णयलाई महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।